काठमाडौं,१७ भदौ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको चुच्चे नक्साप्रति सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
आइतबार नेपाली कांग्रेस ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री साउदले कुटनीतिक संवाद र छलफलबाट नक्सा विवाद समाधान गर्न चाहेको बताए।
‘हामी आफ्नो नक्सामा प्रतिबद्ध छौं, यसलाई धेरै विवाद गरेर अघि बढ्ने भन्दा पनि सबै देशसँग कूटनीतिक संवाद र छलफल गरेर विवादको समाधान गर्न चाहन्छौं,’ उनले भने,‘सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ।’
चीनले हालै सार्वजनिक गरेको नक्साबारे यसअघि नै परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको पनि उनले बताए।
गत अगष्ट २८ मा चीनले नेपालको भू-भाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो।
चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।