काठमाडौं,१७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आजपनि सुनुवाइ नहुने भएको छ ।
अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ । पूर्ण इजलासमा भोलिदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको एमाले कोशी प्रदेश संसदीय दलका मुख्य सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिँदा प्रदेशसभा बैठक अध्यक्षता फेरबदल गरी अध्यक्षता गरेकै प्रदेशसभा सदस्यले समेत मत दिएपछि एमाले संसदीय दलका नेतासमेत रहेका पूर्व मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।
उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले थापाले प्रदेश सभाबाट भदौ ४ गते लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै मुद्दाको अन्तिम किनारा नलागुन्जेल दिर्घकालिन असर पार्ने कुनैपनि निर्णय नर्गन अल्पकालिन अन्तरिम आदेश जारी गरेका थिए ।
गत शुक्रबार पनि उक्त रिट पूर्ण सुनुवाईका लागि न्यायाधीश खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको भएपनि खतिवडा आफैले अन्तरिम आदेश दिएका कारण इजलासमा बस्न नमानेपछि आजका लागि सरेको थियो ।