काठमाडौं,१८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जान नमिल्ने बताएका छन् ।
सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले चीनले नेपालको चुच्चे नक्सा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उनको राष्ट्रवादमाथि पनि प्रश्न उठ्ने बताए ।
उनले भने,‘चुच्चे नक्सा नेपाल सरकार, नेपालको शतप्रतिशत सांसदहरूले पारित गरेर गरेको चुच्चे नक्सा चाइनाको आधिकारिक नक्साबाट हटाइसकेपछि प्रधानमन्त्रीले त्यो नक्सा सार्वजनिक नगर्दै चाइना भ्रमणमा जानु भनेको जुन त्यतिखेरको मन्त्रिपरिषद् र संसद्ले निर्णय गरेको चुच्चे नक्सा चाहीँ हाम्रो होइन भनेर स्वीकार गर्नु हो । त्यसकारण प्रधानमन्त्रीजीले यो कुरा नहुँदासम्म चीन भ्रमणमा जानु हुँदैन’ ।