काठमाडौं,१९ भदौ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।
प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र दोलखाली जनताको सेवामा समय दिन नसकिएकाले उक्त जिम्मेवारी छाडेको उनले उल्लेख गरेका छन्।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको बताएका हुन्।
‘नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु। गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ उनले स्टाटसमा लेखेका छन्, ‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु।’
उनले केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहने बताएका छन्। काफ्ले दोलखाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।