Logo

देउवालाई शेखरको प्रश्न ‘कांग्रेसले सरकारको नेतृत्व लिन सक्ने हो कि होईन ?’



काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सरकार कांग्रेसको पनि हो कि होईन भन्ने आम जनताले महसुश गरिरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमाथि चारैतिरबाट आक्रमण भइरहेको बताउँदै सभापति शेरबहादुर देउवाको ध्यानाकार्षण गराएका हुन् ।

‘अहिले नेपाली कांग्रेसलाई चारैतिरबाट आक्रमण भइराखेको छ । सबैतिरबाट भैराखेको छ । यसो हेर्दाखेरी नौ वटा मन्त्रालय हाम्रो छ । तर, सरकार हाम्रो हो कि होईन भन्ने आम नेपाली जनतालाई महसुश भइराखेको छ ।’ उनले भने, ‘संसदीय अभ्यासमा प्रधानमन्त्री नै सर्वैसर्व हुँदो रहेछ । प्रधानमन्त्रीले भनेको कुरा मन्त्रीहरुले काट्न नमिल्ने भएर पनि होला ।’

नेता कोईरालाले अब कांग्रेसले सरकारको नेतृत्व लिनसक्ने हो कि होईन भनेर सभापति देउवालाई प्रश्नसमेत गरे । कांग्रेसले सरकारको नेतृत्व लिएको खण्डमा मात्रै नेपाली जनतालाई आश्वस्थ बनाउन सकिने उनको भनाई छ । उनले अहिले राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र कूटनीतिक कुनै पनि दृष्टिकोणमा देश ठीक ठाउँबाट अगाडि बढ्न नसकेको बताए ।

‘अब नेतृत्व हामीले लिन सक्ने हो कि होईन ? हामीले नेतृत्व लिनसक्ने हो भने नेपाली कांग्रेसको वर्चश्व हुन्छ । नेपाली जनतालाई आश्वस्त पार्न सकिन्छ । अहिले राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र कूटनीतिक कुनै पनि दृष्टिकोणमा देश ठीक ठाउँबाट अगाडि बढिराखेको छैन,’– नेता कोईरालाले भने ।



प्रतिक्रिया दिनुहोस्