Logo

पूर्वमेयर शाक्यको प्रश्न, ‘टुकुचा थियो भन्ने हामीलाई पहिल्यै थाहा थियो, बालेनले कसरी पत्ता लगाए ?’



काठमाडौं, २० भदौ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले वर्तमान मेयर बालेन्द्र शाहले टुकुचा खोला भत्काएर व्यवस्थित गर्न नसकेको अरोप लगाएका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डिपिआर तयार नै नभई टुकुचा खोल्दा भद्रगोल भएको बताए । उनले टुकुचा कसरी बनाउने र कसरी व्यवस्थित गर्ने भन्ने कसैसँग पनि योजना नरहेको बताए ।

मेयर शाहले टुकुचा पत्ता लगाए भनेर मिडियाहरुमा समाचार आउँदा आफूलाई हाँसो उठेको उनको भनाई छ । टुकुचा छ भन्ने कुरा आफूलाई पहिला नै थाहा भएको उनले ब्यङ्ग्य गरे ।

‘मैले पनि सुने समाचारमा टुकुचा पत्ता लगायो भनेर हेडिङ राखेर धेरै समाचार आयो । मलाई हाँसो पनि उठ्यो, त्यो टुकुचा थियो भनेर पहिलादेखि नै मलाई थाहा थियो । कसरी पत्ता लगायो ?’– उनले प्रश्न गरे ।

साथै देश विदेशबाट टुकुचा हेर्न आएको भनेर गलत प्रचार गरिएको उनको भनाई छ । ‘फिल्मको सुटिङजस्तै गाडीबाट मान्छे ओसारेको त होईन’ भन्ने उनले आशंका पनि व्यक्त गरे ।

‘विदेशबाट, जिल्ला जिल्लाबाट हेर्न आयो भनेका छन्, कहाँको मान्छे आयो ? गाडीबाट ओसार्यो कि ? गाडीबाट ओसारेर अहिलेकाही फिल्मको सुटिङजस्तै गाडीबाट मान्छे ओसार्छ, सुटिङ सकाउँछ र फेरि ठाउँमै ल्याएर छोड्दिएको जस्तै को हो त त्यहाँ हेर्न आउने ? विदेशबाट को आयो पहिचान छ ? टुकुचा हेर्नलाई विदेशबाट कोही काठमाडौं आउँछ ?’– उनले प्रश्न गरे ।

बालेनले हालै सामाजिक सञ्जालमा सिंहदारबा जलाइदिन्छु भनेर लेख्नु आपत्तिजनक रहेको उनले बताए । आफूहरु मार्ने, कुटपिट गर्ने र जलाउने लगायतका अराजकताको विरोध गरेर आएको बताउँदै उनले शान्तिपूर्वक देशलाई अग्रगमनतर्फ लैजान छोडेर अराजकता र हिंसा जसले गर्दा पनि ठीक नहुने उनको भनाई छ । बालेको सचिवालयले दोहोरो अर्थ लाग्ने गरी विज्ञप्ति निकालेको उनको आरोप छ । जिम्मेवार पदमा रहेका व्यक्तिले आवेशमा आएर अभिव्यक्ति दिँदा त्यसले दुरागामी असर पर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्