काठमाडौं,२० भदौ । गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले छानबिन गरिरहेको छ । सीआईबीले पछिल्लो समय उच्च तहका नेतादेखि कर्मचारीसमेतलाई छानबिनको दायरमा तानेको छ । अनुसन्धानकै क्रममा सीआईबीले सहसचिव झलकराम अधिकारीसँग पनि बयान लिएको छ ।
सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । भदौ ७ मा विभागबाट गृह मन्त्रालयमा तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
मन्त्रालयमा तानिएका अधिकारीसँग सीआईबीले मंगलबार बयान लिएको उच्च स्रोतले जनाएको छ । सीआईबीले सोमबार मात्रै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि बयान लिएको थियो । भने माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा हिरासतमै रहेका छन् ।
यस प्रकरणमा हालसम्म २० जनाभन्दा धेरै प्रहरीको हिरासतमा रहेका छन् ।