Logo

विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र बिस्तार गर्न सहुलियत दिन सरकार तयार छः उर्जामन्त्री बस्नेत



काठमाडौं,२० भदौ । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार नेपाल विद्युत प्राधिकरणले ३ वर्षको अवधिमा देशभर निर्माण गरेका ५१ वटा विद्युतिय चार्जिङ स्टेशनको उद्धघाटन गर्दै मन्त्री बस्नेतले यस्ता बताएका हुन् । उनले विद्युतिय सवारी साधनको प्रवद्र्धनका लागि गर्नुपर्ने आवश्यक गृहकार्यका लागि सहूलियत दिन सरकार तयार गरेको प्रतिवद्धता जनाएका छन् ।

उनले भने, ‘सरकारले अपौचारिक रुपमा देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन गरिरहेका छौं । यो चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै होइन इभीमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास लिएका छौं । विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरणमा महत्व राख्छ । सँगै नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्नेछ । सरकारले ५१ स्थानमा मात्रै नभएर अब निकट भविष्यमा नै देशभर व्यापक रुपमा बिस्तारको योजना बनाएका छौं । सरकारले त्यो योजनाका साथ काम गरिरहेको छ । जलविद्युत क्षेत्रको दिगो विकासको लागि प्रविधिको विकास र अनुसन्धान र विद्युतीय सामग्रीको उत्पादनको दृष्टिले होस् वा विद्युतीय सवारी साधनहरुको प्रवद्र्धनको लागि सरकारले केही नीतिहरु निर्माण गरिहेको छ । उपयुक्त कानूनी व्यवस्थाहरु गरिरहेको छ । तर अब यो क्षेत्र कानूनी व्यवस्थामा मात्रै सिमित छैन । व्यवहारिक जीवनमा अभियानको रुपमा अगाडि बढाउँदै छौं । यो एउटा नयाँ अभियानको थलनी गर्दैछौं । नेपालको हरित दिगो विकासको यात्रामा यो महत्वपूर्ण सावित हुनेछ । विद्युतीय अन्य वस्तुहरु नेपालमा नै उत्पादन गर्न सक्नुपर्छ । त्यसको लागि पनि सरकार छलफल गरिरहेको छ । सरकारले विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन र बिस्तारको लागि दिनुपर्ने सहुलियत तयार गर्नुपर्ने अनकुल वातावरण बनाउन सरकार तयार छ ।’

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनकोे क्षेत्रलाई सरकारले कानूनी व्यवस्थामा मात्रै सीमित नभएको भन्दै व्यवहारिक जीवनमा अभियानको रुपमा अगाडि बढाउने बताए।



प्रतिक्रिया दिनुहोस्