काठमाडौं,२० भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेभित्र निक्कै ठूलो पहिरो जाने खतरा बढ्दै गएको दाबी गरेका छन् ।
बुधबार पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले एमालेले लिएका नीति र सिद्धान्तकै कारण जनतामा निराशा बढ्दै गएको र आम कार्यकर्ता आक्रोशित भइरहेको दाबी गरेका छन् ।
उनले भने,‘अहिले हामी के कुरामा बढी चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग । विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन् । तर, हामीले यही मञ्जबाट एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं । अब एमालेभित्र पहिरो जाँदैछ ।’
केही दिनअघि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमालेमा धाँजो फाट्दै गएको टिप्पणी गरेका थिए ।