काठमाडौं,२० भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पूर्व अध्यक्ष महेन्द्र यादवमाथि आज भएको आक्रमणको निन्दा गरेको छ ।
पार्टीका सहमहामन्त्रीसमेत रहेका यादवमाथि आज काठमाडौंको भृकुटिमण्डपमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किनेक्रममा एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएका यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यादवमाथि भइको आक्रमणपछि तरूण दलले पार्टीका प्रभावशाली नेताहरूमाथि आक्रमण भइरहेकोले चुप लागेर नबस्ने बताएको छ।
तरूण दल अध्यक्ष विद्वान गुरूङले विज्ञप्ति निकालेर ‘यादवमाथि दिउँसै गुण्डागर्दी शैलीमा खुकुरी प्रहार भएको’ उल्लेख गरेका छन्। उनले यस घटनाको घोर भर्त्सना र निन्दा गरेका छन्।
उनले प्रहरी प्रशासन मुकदर्शक बनेको पनि बताए। ‘नेपालको प्रहरी प्रशासन मुकदर्शक बनेको छ, यो विषय सामान्य होइन,’ उनले भनेका छन्, ‘दोषी नै नभएको व्यक्ति पक्राउ गर्न अघि सर्ने प्रहरी दिउँसै हात-हतियारसहित हिँडडुल गर्ने व्यक्ति चिन्न सक्दैन।’
उनले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।
‘अब तरूण दल चुप लागेर सहेर बस्न सक्दैन,’ उनले भने, ‘हरेक घटनामा कांग्रेसका प्रभावशाली नेताहरूलाई आक्रमण गर्ने यो मनस्थितिको विषयमा तरूण दल प्रधानमन्त्री र गृहमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराउँछ।’
महामन्त्री यादवमाथि राजावादी भनेर चिनाउँदै हिड्ने नुवाकोटको श्याम सापकेटाले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भने आक्रमण गर्ने सापकोटा प्रहरीको नियन्त्रणमा छ्न ।