Logo

कांग्रेस सहमहामन्त्री यादवमाथि भएको अक्रमणलाई लिएर नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा



काठमाडौं, २० भदौ । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री, नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवं नेपाल सरकारका पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको घटनालाई लिएर नेविसंघले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।

नेविसंघले पूर्व मन्त्रीजस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यानमार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार गरिनु निन्दनीय रहेको बताएको छ । उक्त घटनाले आम नागरिकको जिउ ज्यानको रक्षा, शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रुपमा असफल भएको पुष्टि गरेको नेविसंघले बताएको छ । साथै, नेविसंघले गृहमन्त्री श्रेष्ठको राजीनामा पनि मागेको छ ।

‘यस घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र गृहमन्त्रालयले लिनुपर्ने प्रष्ट छ । तसर्थ राजधानीको सार्वजनिक स्थलमा पूर्व मन्त्रीजस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृहमन्त्रीको राजीनामासमेत माग गर्छौं,’– विज्ञप्तिमा भनिएको छ ।

नेविसंघले आक्रमणमा संलग्न र उक्त घटनामा जोडिएको पक्षबारे शुक्ष्म अनुसन्धान गरेर दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्