Logo

भ्रष्टाचारमा शीर्ष नेताहरु फस्ने अवस्था आएपछि गृहमन्त्रीको राजीनामा मागियोः सिके राउत



काठमाडौं, २२ भदौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो अवस्थामा गृहमन्त्री श्रेष्ठलाई हटाइएका जनताको मनोबल झनै घट्ने बताए ।

‘गृहमन्त्रीले राजीनामा दिनुपर्ने के गर्नुभयो ? उहाँले त झन फाईल खोल्नुभयो । अनुसन्धानमा राख्नुभयो । उहाँ आफैंले अनुसन्धान गर्ने त होईन । उहाँ आफैंले न्याय दिने त होईन, न्याय त न्यायालयले दिन्छ ।’ उनले भने, ‘उहाँले फाईल खोल्नुभयो । प्रक्रिया अगाडि बढेको छ । त्यसको लागि उहाँलाई धन्यवाद दिनुपर्छ । यस्तो बेलामा उहाँलाई हटायो भने झन मनोबल घट्छ ।’

आफ्ना मान्छेसहित दलका शीर्ष नेताहरु भ्रष्टाचार प्रकरणमा फस्न थालेपछि केही नेताहरुले गृहमन्त्रीको राजीनामा बारे आवाज उठाएको उनको टिप्पणी छ । गृहमन्त्री श्रेष्ठले विभिन्न दलका नेता तथा सांसदहरुले गरेको अवरोधका बाबजुद पनि हिम्मत गरेर काम गरेको भन्दै उनले धन्यवाद पनि दिए ।

‘आफ्नो मान्छेहरु फस्न थालेपछि स्वभाविक रुपमा त्यो किसिमका कुराहरु आउँछन् । एउटा पार्टीको मात्रै होईन, यहाँ त लगभग सबै पार्टीका शीर्ष नेताहरु समेत फस्ने छाटकाट देखिएपछि त्यो कुरा स्वाभाविक हो ।’ उनले भने, ‘यतिका बाबजुद पनि गृहमन्त्रीले हिम्मत गर्नुभएको छ । म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

 

 



प्रतिक्रिया दिनुहोस्