Logo

मादक पदार्थ सेवन गरेका प्रहरीले नेता /कार्यकर्ता कुटपिट गरेको भन्दै कांग्रेसको आपत्ति



काठमाडौं, २२ भदौ । ताप्लेजुङमा लाखेजात्रा समापनको दिन प्रहरीहरुले मादक पदार्थ सेवन गरी नेता तथा कार्यकर्तामाथि कुटपिट र दुर्व्यबहार गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी संलग्न दोषी प्रहरीलाई निलम्वन र कडाभन्दा कडा कार्वाही गर्न माग गरेका छन् ।

‘२०८० भाद्र २१ गते राती प्रहरी कार्यालय भन्दा ५० मिटर वर कोशी प्रदेश सभा सदस्य खगेनसिं हाङ्गामको निवासबाट करिव २५ मिटर टाढा संचालन भएको मिनिमेलामा नेपाली कांग्रेस ताप्लेजुङ र स्थानीयवासी समेतबाट प्राप्त जानकारी अनुसार मादक पदार्थ सेवन गरेका प्रहरीहरुले नेपाली कांग्रेसका नेता तथा सर्वसाधारण व्यक्तिलाई समेत कुटपिट र हातपात गर्नुका साथै दुर्व्यबहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’– विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले घटनाको बारेमा आवाज उठाउँदा पेमा लामा तामाङलाई मुक्का प्रहार गर्नुका साथै सेटले हिर्काएको विज्ञप्तिमा उल्लेख छ । तामाङको आँखामा गम्भीर चोट लागेको बताइएको छ ।

घटनाका बारेमा बुझ्नखोज्दा कोशी प्रदेश सभाका सदस्य खगेनसिं हाङ्गामलाई वर्दी र सादा पोशाकमा रहेका प्रहरीले गालीगलौज गर्दै दुर्व्यबहार गरेको र उनको निवासमा प्रहरीले नै ढुंगामुडा प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्