Logo

जि–२० सम्मेलनमा सि जिनपिङ नआउनु चीनकै लागि धक्का होः भाजपा नेता शर्मा



काठमाडौं, २३ भदौ । भारतीय जनता पार्टीका नेता वेदप्रकाश शर्माले जि–२० सम्मेलनको मूल एजेण्डा विश्वभारी शान्ति, समृद्धि र गरिबीको निवारण भएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै भाजपाका नेता शर्माले जि–२० को मूल एजेण्डा विश्व शान्ति, आतंकवादको अन्त्य र समृद्धि रहेको बताएका हुन् ।

भातमा हुने उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाईडेनदेखि १८ वटा देशका शीर्ष नेताहरुको सहभागिता रहने उनले बताए । जि–२० सम्मेलनले विश्वलाई नयाँ बाटो देखाउने उनले विश्वास व्यक्त गरे ।

जि–२० सम्मेलनमा चीनियाँ राष्ट्रपति सि जिन पिङको अनुपस्थितिका बारेमा कुरा गर्दै उनले चीनले ठूलो मौका गुमाएको टिप्पणी गरे । उनले उक्त सम्मेलनमा चीनियाँ राष्ट्रपति नआउनु चीनकै लागि धक्का हुने बताए ।

‘जि २० मा चीन नआउनु भारतका लागि धक्का होईन, यो उसैका लागि धक्का हो । यो एउटा मौका थियो, जहा ठूलो मनले ठूला विषयमा छलफल हुने थियो । त्यो प्लेटफर्म चीनले गुमाउँदै छ,’– उनले भने ।

चीनियाँ राष्ट्रपतिको आफ्नै देशमा क्रेज नरहेको आरोप लगाउँदै उनले भारतमा हुने जि–२० मा चीनियाँ राष्ट्रपति सि जिन पिङ नआउँदैमा सम्मेलनको क्रेज नघट्ने बताए । चीनले विश्तारवादी नीति लिएर अगाडि बढेको उनको आरोप छ । चीनियाँ मिडियाहरुमा अंकुश रहेको उल्लेख गर्दै उनले सरकारको विरुद्धमा हुने कुनै पनि समाचार सम्प्रेसनमा रोक रहेको बताए ।

जि–२० सम्मेलन भारतको नयाँ दिल्लीमा आज र भोलि (सेप्टेम्बर ९ र १०) हुँदैछ ।

 



प्रतिक्रिया दिनुहोस्