Logo

स्वतन्त्र निजामती कर्मचारी संगठनका अध्यक्ष पोखरेल भन्छन्, ‘दलनिकट ट्रेड युनियन आवश्यक छैन’



काठमाडौं, २३ भदौ । स्वतन्त्र निजामती कर्मचारी संगठनका अध्यक्ष पशुपति पोखरेलले आफूहरु कुनै पनि दलसँग निकट नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु अहिले दलीय व्यवस्थामा रहेको ट्रेड युनियनको विरुद्धमा रहेको बताए । गणतन्त्र आएपछि ट्रेड युृनियनले आफ्नो औचित्य पुष्टि गर्न नसकेको उनको टिप्पणी छ ।

‘हामी कुनै राजनीतिक दलसँग निकट छैनौं । अहिले दलीय व्यवस्थामा रहेको ट्रेड युनियनको विरुद्धमा छौं हामी । हिजो राजाको शासनकालमा दलसँग मिलेर प्रजातन्त्रका लागि लड्नुपर्ने समय थियो, कर्मचारीको स्वतन्त्रताका लागि लड्न पर्ने समय थियो । त्यतिखेर आवश्यकता थियो होला ।’ उनले भने, ‘यो गणतन्त्र आइसकेपछि ट्रेड युनियनले आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन ।’

कर्मचारीमाथि सरकारको नाङ्गो हस्तक्षेप रहेको उनको भनाई छ । सरकारले कर्मचारीलाई पटक–पटक नङ्ग्याएको उनले बताए । संविधान बनेको ८÷८ वर्षसम्म ऐन ल्याउन नसकेको भन्दै उनले सरकारको आलोचना गरे । अहिले वनका कर्मचारीले तलब खान नपाएको उनको भनाई छ ।

कर्मचारी समायोजनको बेथितिको कारण मान्छे आत्महत्यासमेत गर्न परेको उनले बताए । यस्तो अवस्थामा पनि ट्रेड युनियनले कुनै निकास दिन नसकेको भन्दै उनले ट्रेड युनियनको काम नरहेको बताए । आफूहरु सरकारले कर्मचारीमाथि गरिरहेको विभेद विरुद्धको लडाईँमा रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्