Logo

रौतहटमा छिमेकीले नै गरे ९ वर्षीय बालिका अपहरण, दुई जना प्रहरी नियन्त्रणमा



काठमाडौं, २३ भदौ । प्रहरीले बालिका अपहरण गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। रौतहट जिल्लाको माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षीया छोरी खुश्बुकुमारी महतो गत भदौ १४ गते साँझ घर छेउबाटै हराएकी थिईन् । घरपरिवारले खोजतलास गर्दैजाँदा छिमेकीले अपहरण गरेको खुल्न आएको थियो । त्यसपछि उनीहरुले इलाका प्रहरी कार्यालय गरुडालाई जानकारी गराएका थिए ।

अवधेशका अनुसार छिमेकीबाट नै बालिका अपहरण गरिएको सबैतिर थाहा भएपछि बोरामा बाँधिएको अवस्थामा खुश्बु फेला परेकी थिईन् । खुश्बुलाई छिमेकी रञ्जित साह र नरेश साहले अपहरण गरेर बेच्न भारत पुर्‍याएका थिए।

यस विषयमा ईलाका प्रहरी कार्यालय गरुडा रौतहटले जाहेरी लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । पीडकहरुमाथि ७ दिन म्याद थप्प गरि अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

नामसहित जाहेरी दिँदा पनि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन ढिलासुस्ती गरेको थियो । त्यसपछि आक्रोशित गाउँलेले गौर चन्द्रपुर सडक खण्ड दुई घण्टा चक्का जाम गरेका थिए । प्रहरीले दुवै आरोपीलाई नियन्त्रणमा लिएपछि मात्रै उनीहरुले आन्दोलन फिर्ता लिएका थिए । खुश्बुलाई नशालु सुई लिएर यहाँबाट लगेको पीडितका बाबु महतोले बताए ।

दुवै आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही गर्न माग गर्दै पीडितका बाबु महतोले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएका छन् । ईलाका प्रहरी कार्यालय गरुडाले दुईजनालाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताएको छ । साथै, बालिकाको स्वास्थ्य परीक्षण लगायतका काम भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्