Logo

मुख्यमन्त्री कार्की नेतृत्वको कोशी सरकारलाई राप्रपाको समर्थन छैनः राजेन्द्र लिङ्देन



काठमाडौं, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नवगठित कोशी प्रदेश सरकारलाई आफूहरुको समर्थन नरहेको बताएका छन् ।

आज (शनिबार) विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई राप्रपाको समर्थन नरहेको बताएका हुन् ।

कोशीमा राजनीतिक स्थायित्व चाहने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन पर्ने उनको धारणा छ । राप्रपाको प्राथमिकता प्रदेश र संघीय सरकार कुनैमा पनि नरहेको उनले बताए ।

कोशीमा संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेताको हैसियतमा कार्की हिजो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

निवर्तमान मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतमाथि प्रश्न उठाउँदै उनल सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चले थापाले प्रदेश सभा विश्वासको मत पाउन नसकेको ठहर गर्दै एमाले संसदीय दलका नेता रहेका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्