Logo

राम–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले घोषणा गर्यो यसवर्ष पुरस्कारका लागि छनोट भएका संस्था



काठमाडौं, २३ भदौ । राम–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेत (अध्यक्ष बालकृष्ण श्रेष्ठ र उपाध्यक्ष शीतल सिंह राठोर) लाई प्रदान गर्ने भएको छ ।

राम–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषको आज भएको साधारण सभाले २०८० सालमा प्रदान गर्ने सामाजिक सेवा पुरस्कारअन्तर्गत २ लाख नगद र सम्मानपत्र प्रशान्ति वृद्धाश्रम केन्द्रका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष राठोरलाई प्रदान गर्ने निर्णय गरेको हो ।

स्वयमसेवाको भावनाले नेपालीहरुको हितमा उदाहरणीय योगदान गरेका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने गरिएको छ ।

त्यस्तै, रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका – ७, काठमाडौं (संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल) लाई, रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार दृष्टि फाउन्डेशन, नेपाल धनगढी उपमहानगरपालिका – १, कैलाली (संस्थापक अध्यक्ष कल्पना भट्ट) लाई र , रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपाङ्ग संघद्वारा सञ्चालित बालगृह, ठूलागाउँ, तारकेश्वर नगरपालिका–३ (संस्थापक अध्यक्ष नरबहादुर राउत) लाई प्रदान गर्ने निर्णय भएको छ । यी तीनवटै पुरस्कारको राशी एक÷एक लाख रुपैयाँ रहेको छ ।

रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्य स्मरणमा २०७० सालमा स्थापना गरेको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा २०७४ देखि चार लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्न थालेको छ ।

पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनौट गर्नका लागि ५ जना संलग्न एक छनोट समिति गठन गरिन्छ । सो समितिले सूचना संकलन गरी स्थलगत भ्रमण समेत गरी निश्चित मापदण्डको आधारमा उत्कृष्ट प्रतिभाको सिफारिश गर्दछ ।



प्रतिक्रिया दिनुहोस्