Logo

सामाजिक सद्भाव भाड्ने तत्वबाट राष्ट्रिय एकता खतरामा छः केपी ओली 



काठमाडौं, २३ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन् ।

आज अखिल नेपाल महिला सङ्घ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातजाति, भाषाभाषी, धर्म, संस्कृति, पर्व, चाँडपर्वका नाममा सदियौँदेखि कायम रहँदै आएको एकतालाई भाड्ने तत्व सक्रिय रहेको बताए ।

“यस्ता चाँडपर्व मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्ने सल बलाएका छन्”, एमाले अध्यक्ष ओलीले भने, “यसरी सबै जातजातिका मानिस मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु र साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेसँग सचेत हुनुपर्छ ।”

सबै जातजाति एकै ठाउँ बसेको मन नपराउने, झगडा गराएर मारामार गर्न गराउन खोज्ने एकता विरोधीसँग सचेत हुँदै यस्ता साझा चाडपर्व उत्सवका रुपमा मनाउनुपर्ने उनले बताए ।

“हामीले आफैँले आफ्नो खुसी ल्याउनुपर्छ, अरुसँग खुसी सापटी खोजेर पाइँदैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफैँले ल्याउनुपर्छ, हाम्रो खुसी अरुले ल्याउँदैन, हामी सबैले चाह्यौँ भने हाम्रो खुसी आफैं ल्याउन सक्छौँ,”– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्