Logo

डिप्रेसनलाई समयमै पहिचान गरेर उपचार गर्नसक्यौं भने आत्महत्या रोक्न सकिन्छः वरिष्ठ मनोचिकित्सक शर्मा



काठमाडौं, २४ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस । नेपालका लागि आत्महत्या ठूलो चुनौति र समस्याको रूपमा देखापरेको छ । नेपालमा पछिल्लो आर्थिक वर्षमा ६ हजार नौ सय ९३ जनाले आत्महत्यामार्फत ज्यान गुमाएका छन् । जसमा सात सय ९५ जना बालबालिकाले आत्महत्या गरेका छन् ।

आत्महत्याको पछाडि ९५ प्रतिशत मानसिक रोग जिम्मेवार हुने गरेको छ । विश्वमा १५ वर्षदेखि २९ वर्षका मानिसहरुको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् । प्राणघातक रोग एचआईभी एड्स, क्यान्सर, मलेरिया, स्तन क्यान्सर र आपराधिक घट्नाबाट भन्दा पनि आत्महत्याबाट धेरै मानिसले ज्यान गुमाइरहेका छन् । यसवर्षको आत्महत्या रोकथाम दिवसको नारा ‘कार्यमार्फत आशा जगाऊँ’ रहेको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्य अभियानको आयोजना र रिपोर्टर्स क्लब नेपालको सहकार्यमा क्लबको साक्षात्कार कक्षमा ‘आत्महत्या रोकथाममा मिडिया र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले आत्महत्या सामाजिक, आर्थिक कारणलेमात्रै नभएर जैविक कारण हुने गरेको बताए । शरीरमा रहेका विभिन्न रशायनहरु तलमाथि भएपछि डिप्रेसन हुने बताउँदै उनले आत्महत्याको प्रमुख कारण यही नै रहेको बताए ।

आर्थिक अवस्थाले मात्रै मान्छेले आत्महत्या नगर्ने बताउँदै आत्महत्यालाई एउटै कुरासँग जोड्न नमिल्ने बताए । आर्थिक रुपमा उन्नत अवस्थामा रहेका जापन, अमेरिका, युरोप लगायतका मुलुकका नागरिकहरुले पनि आत्महत्या गर्ने गरेको बताउँदै उनले आर्थिक समस्या आत्महत्याएको अनेकौं कारणमध्येको एउटा कारण भएको बताए ।

समाजमा भइरहेको परिवर्तनलाई युवा पुस्ताले राम्रोसँग आत्मसात गर्न नसक्दा पनि यदाकदा आत्महत्याको घटना हुने गरेको उनको भनाई छ । आत्महत्याको प्रमुख कारण डिप्रेसन रहेको उनको भनाई छ । उनले डिप्रेसनको उचार सम्भव रहेको बताउँदै उनले आत्महत्या न्युनीकरणका लागि समयमै डिप्रेसनको पहिचान गरी उपचार गर्न आवश्यक रहेको बताए ।

‘रिसर्चका अनुसार आत्महत्यको कारण ७० प्रतिशतभन्दा बढि डिप्रेसनसँग जोडिएको छ । डिप्रेसन एउटा यस्तो मानसिक रोग हो, जसको उपचार गर्न सकिन्छ । डिप्रेसनलाई चाँडै नै पहिचान गरेर यसको उपचार राम्रोसँग गर्नसक्यौं भने धेरै आत्महत्यालाई कम गर्नसक्छौं,’– उनले भने ।

आवेगात्मक आत्महत्या थोरैमात्रामा हुने उनको दाबी छ । आत्महत्या धेरैजसो योजनावद्ध हुने र उक्त योजना घरपरिवार र साथीभाइहरुले पनि पत्ता लगाउन नसक्ने खालका हुने उनको भनाई छ । आत्महत्या न्युनीकरणका लागि मानसिक स्वास्थ्यमा संवेदनशील हुन आवश्यक रहेको उनले बताए ।
मानसिक स्वास्थ्यको पहुँच ग्रामीण क्षेत्रमा पनि पुर्याउन उनले नेपाल सरकार समक्ष आग्रह गरे । नेपालमा बालबालिकामा पनि आत्महत्याको दर बढेको भन्दै चिन्ता व्यक्त गरे । आत्महत्यालाई धेरै हदसम्म न्युनीकरण गर्न सकिने उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्