काठमाडौं,२५ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् ।
११०औँ बीपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक गोष्ठीलाई सम्बोधन गर्दै महतले लुम्बिनी र पोखरा एयरपोर्टभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको बताए ।
अबको ४ वर्षसम्म काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने महतले बताए ।
‘हामीले पहिला लुम्बिनी र पोखरा एयरपोर्ट बनायौँ । सबैभन्दा पहिला हामीले निजगढ बनाउनु पर्दथ्यो । हाम्रो कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौँ’ महतले भने, ‘निजगढको विषयमा गर्ने नगर्ने भन्ने धेरै भयो । फास्ट ट्रयाक भएपछि ४५ मिनेटमा काठमाडौं आउन सकिन्छ । त्यो एयरपोर्टलाई हामीले उच्च प्राथमिकता दिनु नै पर्छ । ४ वर्षसम्म एयरपोर्ट बनाइसक्नेछौँ ।’
नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको बताए ।