काठमाडौं,२६ भदौ । बुधबारका लागि डाकिएको प्रतिनिध सभा बैठक स्थगित भएको छ । नेकपा एमालेका उपाध्यक्ष, संसदीय दलका उपनेता, पूर्व सभामुख, संविधान सभाका अध्यक्ष तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि भोलिका लागि डाकिएको बैठक स्थगित भएको हो ।
संसद सचिवालयका महासचिव डा .भरतराज गौतमले आज एक विज्ञप्ति जारी गर्दै बुधबारका लागि निर्धारित बैठक बिहीबार दिउँसो ३ बजे बस्नेगरित स्थगित भएको जानकारी गराएका छ्न ।
गौतमद्धारा जारी सूचनामा भनिएको छ,‘ संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ्गको असामयिक निधन भएको कारण मिति २०८० साल भदौ २७ गते बुधबार दिनको १ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रयोजनको लागि मिति २०८० साल भदौ २८ गते बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ ।
नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान हृदयघातका कारण आकस्मिक निधन भएको थियो ।