काठमाडौं,२८ भदौ । आमा जनता पार्टी निकटको विद्यार्थी संगठन आम विद्यार्थी मोर्चाले नयाँ संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने घोषणा गरेको छ ।
मोर्चाका अध्यक्ष विवेककुमार साहले आज एक विज्ञप्ति जारी गर्दै नयाँ संविधानविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएको हो । मोर्चाले नयाँ संविधानको विरोधस्वरुप आगामी असोज १ गते संविधानबारे सार्वजनिक अपिल गर्ने । असोज २ गते संविधानसभा सदस्यहरूलाई तक्मा फिर्ता गर्न अनुरोध गर्ने । असोज ३ गते महत्वपूर्ण शहरहरूमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने । र असोज ४ गते संविधानको अवसानमा शोक मनाउने निर्णय गरेको अध्यक्ष साहले जानकारी दिए ।
‘नेपालको संविधान २०७२ घोषणा सँगै जनताले सशस्त्र द्वन्द्वको समाप्ति, सङ्क्रमण कालको अंत र देशमा स्थिरता एवं तीव्र बिकासको अपेक्षा गरेका थिए । तर बिडम्बना देश प्रगतिको सट्टा अधोगती तिर धकेलिएको छ’ । मोर्चाका अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘अहिले देश एकदमै संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ, देशको अर्थतन्त्र धरासाही हुदैछ, व्यापार व्यवसाय चौपट छ, बेरोजगारी चरम सीमामा छ, दिनदिनै हजारौं युवाहरू देश छोडेर विदेश गइरहेका छन्, शिक्षा र स्वास्थ्यको स्तर झन झन खस्किदै गइरहेको छ, देश बढ्दो अस्थिरता, राजनीतिक द्वन्द्व र दलीय भागबन्डाको कारण अस्तव्यस्त छ, वैदेशिक हस्तक्षेप पनि दिनदिनै बढ्दै गएको छ, सरकार भ्रस्टाचारमा लिप्त छ, घुस र कमिसन बिना कुनै पनि काम सम्भव छैन संघीय लोकतान्त्रिक गणतन्त्र हात्तीको देखाउने दाँतमा सिमित छ, लोकतन्त्रको ठाउँमा दलतन्त्र छ, अधिकार र पहिचान बिहिन संघियता उही साशक जातिकै पक्षमा छ, समानुपातिक अधिकार पनि शासक जातिकै लागी भएको छ, गणतन्त्र पनि जनताको हैन दलीय राजाहरूकै छ, भगौडा वर्गले देशको नेतृत्व गरिरहेको छ । अर्थात् देश एकपछि अर्को असफलता तर्फ अग्रसर छ र यसको एउटै कारण हो, नेपालको वर्तमान संविधान । गलत संविधानकै कारण देश असफलता तर्फ अग्रसर भईरहेको सन्दर्भमा संविधान दिवसको औचित्य छ की छैन भने विषय विचारानीय छ । भगौड़ा दलाल वर्गको नेतृत्वमा रहेको गण्डा व्यवस्थाको भण्डाफोर गर्दै यो खिचड़ी संविधानको विकल्प दिन संविधान दिवसलाई जनस्तरबाटै अस्वीकार गर्न जरुरी छ । यसर्थ हाम्रो विद्यार्थी मोर्चाले असोज ३ गते वर्तमान संविधानको विरोधमा अन्त्येष्टि यात्रा निकाल्ने निर्णय गरेको छ’ ।
यस्तो छ मोर्चाले जारी गरेको विज्ञप्ति