काठमाडौं,२८ भदौ । संविधानसभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको सम्झनामा एमाले नेता भीम रावलले कविता लेखेका छन् । दिवंगत नेता नेम्वाङप्रति श्रद्धाञ्जलीसहित कविता समर्पित गरेको रावलले उल्लेख गरेका छन् ।
यही २६ भदौमा नेम्वाङको निधन भएको थियो । नेम्वाङको आज राजकीय सम्मानका पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेम्वाङ नेपाली राजनीतिमा भद्र नेताको रूपमा परिचित थिए।उनको निधनमा सरकारले आज शोक बिदासमेत दिएको छ ।
यस्तो छ नेम्वाङप्रति सर्मपित गरेर रावलले लेखेको कविता
श्रद्धाञ्जली
भीम रावल
सुन्तला बारी इलामको डाँडा अँध्यारो भयो नि
सुवास ढल्दा ढाकियो पुष्प सुवासै गयो नि !
अनुहार तिम्रो अगाडि आउँछ देशको कानूनमा
उकाला-घुम्ति कुल्चेको संगै विगत जीवनमा ।
पूर्व र पश्चिम जोडौं ल भन्थ्यौ हितमा समाजको
मुस्कुराइ भन्थ्यौ अपेक्षा गरौं उज्यालो आगतको
यात्रामा तिमी अथक सधैं गन्तव्य छुनलाई
जनजनको मनमा बास बस्न सक्ने मानव हुनलाई ।
सम्झना मात्र जीवित छन् अब छोडेर गइहाल्यौ
अनन्त क्षितिज कहाँ हो विलिन क्षणभरमा भइहाल्यौ
सुकर्म तिम्रा मर्ममा हाम्रा सदैव रहने छन्
श्रद्धा सुमन अर्पण गर्छु भारी छ अति मन ।