काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा नेम्वाङको निधनप्रति सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पढेर सुनाएका थिए ।
शोक प्रस्ताव पारित भएसँगै नेम्वाङको आत्माको चीर शान्तिको कामनासहित सबै सांसदहरुले एक मिनेट मौन धारण गरेका थिए ।विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो ।
नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य थिए ।
उनी २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधानसभाको अध्यक्ष थिए ।
यसैगरी, २०५६ सालमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति भएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए । संविधान सभामार्फत् नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो ।
उनको पार्थिव शरीर आज (बिहीबार) पशुपतिमा हिन्दु र किरात संस्कार अनुसार अन्त्येष्टि गरिएको थियो । नेम्वाङले २०५६ सालदेखि इलामबाट निर्वाचन जित्दै आएका थिए । उनले नेपालको इतिहासमा चार पटक सभामुख बन्ने अवसर पाएका थिए ।
शोक प्रस्ताव पारितपछि स्थगित भएको प्रतिनिधि सभा बैठक २०८० साल भदौ २९ गते दिनको १ बजे बस्नेछ ।