Logo

प्रधानमन्त्री प्रचण्डद्वारा हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाई



काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको हाङझाउमा हुने १९औं यशियाली खेलकुदमा सहभागिता जानाउने नेपाली टोलीलाई विदाई गरेका छन् ।

आज (बिहीबार) प्रधानमन्त्रीको सरकारी निवासमा एक कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले १९औं यशियाली खेलकुदमा सहभागिता जानाउने नेपाली टोलीलाई विदाई गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई शुभकामना दिए । ‘तपाईंहरूको अथक मेहेनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ। मलाई पूर्ण विश्वास छ– यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ,’– विदाई कार्यक्रममा उनले भने ।

१९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रममा  प्रधानमन्त्री दाहालको सम्बोधन 

माननीय युवा तथा खेलकुद मन्त्रीज्यू,
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, सदस्य सचिव र परिषदका सदस्यज्यूहरू,
मन्त्रालय र परिषदका कर्मचारी साथीहरू,
प्रतियोगितामा सहभागी हुनुहुने खेलाडी साथीहरू,
प्रशिक्षक र व्यवस्थापकज्यूहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू ।

१. सर्वप्रथम यही असोज ६ गतेदेखि २१ गतेसम्म छिमेकी राष्ट्र चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण खेलाडी, प्रशिक्षक र व्यवस्थापक मित्रहरूमा हार्दिक बधाइका साथ प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्दछु ।

२. विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नुहुने जानकारी पाउँदा मलाई खुसी लागेको छ । नेपालबाट पहिलोपटक यति ठूलो संख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुने प्रतियोगितामा महत्वपूर्ण सफलता हासिल गर्ने मैले विश्वास लिएको छु ।

३. नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको छ, यसपटक पनि राम्रो गर्नेछ भन्ने सरकारको विश्वास छ । पछिल्लोसमय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ । धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ, तपाईहरूको अथक मेहेनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ । मलाई पूर्ण विश्वास छ– यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ ।

४. खेलाडी छनोटका लागि तीन चरणको प्रक्रिया पूरा गरी अढाइ महिनादेखि तपाईहरू बन्द प्रशिक्षणमा रहेको मैले जानकारी पाएको छु । यसकारण पनि यसपटक नेपालले राम्रो गर्ने विश्वास छ । म आफूसमेत प्रतियोगिता हेर्न चीन भ्रमणमा जाँदैछु । त्यसले तपाईहरूको मनोबल बढाउन र खेल कुटनीतिमा नेपालको भूमिका स्थापित गर्न सहयोग पुग्ने मैले विश्वास लिएको छु ।

५. मैले पटकपटक जोड दिएर भन्दै आएको छु– खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कुटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ । त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।

६. यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले मलाई गम्भीर बनाएको छ । छिट्टै यो समस्या समाधान गरिनेछ । तपाईहरूको मनोवल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म तपाईहरूमा आग्रह गर्दछु ।

७. प्रतियोगिताको तयारीका सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयले जुन तयारी र भूमिका खेलेको छ, त्यसका निम्ति धन्यवाद व्यक्त गर्दछु । तपाई खेलाडी साथीहरू उच्च मनोबलका साथ खेल्नुहुनेछ । प्रशिक्षक र व्यवस्थापकले पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ । अन्त्यमा, सरकार हमेशा तपाईहरूको साथमा रहेको जानकारी गराउँदै उच्च मनोबल र दृढताका साथ प्रतियोगितामा सहभागी हुन अपील गर्दछु, धन्यवाद ।

 



प्रतिक्रिया दिनुहोस्