Logo

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा सुवास नेम्वाङको निर्णायक भूमिका छः विष्णु पौडेल



काठमाडौं, २९ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संविधान निर्माणमा स्वर्गीय सुवासचन्द्र नेम्वाङको भूमिका अत्यन्तै महत्वपूर्ण र निर्णाय भएको स्मरण गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले स्वर्गीय नेम्वाङको सुझबुझ, सुल्झिएको विचार, विश्लेषण र दृढ इच्छाशक्तिका कारण संविधान निर्माण सम्भव भएको बताएका हुन् ।

‘संविधान निर्माणमा सुवास नेम्वाङको भूमिका अत्यन्तै महत्वपूर्ण, उत्कृष्ट र निर्णायक रह्यो । उहाँमाथि जुन प्रकारको दवाब सिर्जना भएको थियो, जस्ता प्रकारका अवरोधहरु सिर्जना गर्ने कोशिस भएका थिए, उहाँको सुझबुझ, सुल्झिएको विचार, विश्लेषण र दृढ इच्छाशक्ति उहाँमा थिएन भनेदेखि जुन मितिमा जसरी हामीले संविधान जारी गर्यौं सादय सम्भव हुँदैनथियो,’– उनले भने ।

मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त गर्नुमा नेम्वाङको भूमिका उत्कृष्ट र निर्णाय भएको उनको दाबी छ । नेम्वाङको त्यो खाल्को भूमिकाको अभावका उक्त, समयमा र अहिलेको विशेषता भएको संविधान प्राप्त गर्न असम्भव रहेको उनको दाबी छ ।

नेपालको संविधान विश्वका उत्कृष्ट संविधानमध्ये एक भएको उनले बताए । उनले यो संविधानका बारेमा किन्तु परन्तु सोच्न आवश्यक नरहेको बताए । सार्वभौम जनताका प्रतिनिधिबाट संविधान सभामार्फत संविधान निर्माण गर्ने विधि विश्वकै सर्वोत्कृष्ट विधि भएको उनको दाबी छ ।

‘यो संविधान उत्कृष्ट संविधान हो । यसमा कुनै इफ बट, किन्तु परन्तु भनेर सोच्न आवश्यक छैन । यो संविधान किन उत्कृष्ट भन्दाखेरी पहिलो कुरा त हामीले सार्वभौम जनताका प्रतिनिधिद्वारा, पहिलो संविधान सभा असफल भएपछि संविधान सभाको विकल्प संविधान सभा नै हो भन्ने मान्यताका साथ संविधान सभाबाट यो संविधान निर्माण गरेका छौं । संविधान निर्माणको विधिको दृष्टिकोणले यो संविधान निर्माणको सर्वोत्कृष्ट विधि हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्