काठमाडौं,२९ भदौ । मकवानपुरको हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् ।
बुधबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त बिडारीलाई कुटपिट गर्नेलाई कारबाही माग गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा बुझाएका हुन् ।
आजदेखि आकस्मिकबाहेक हेटौँडा अस्पतालका सबै सेवा बन्द गरी चिकित्सकरस्वास्थ्यकर्मी आन्दोलनमा उत्रेका छन् ।
डाक्टरविरुद्ध सांघातिक आक्रमण गर्नेलाई कारबाही नगरेको, बिरामी डाक्टरहरुको उपचारमा सरकारी पक्षले कुनै जिम्मेवारी नलिएको तथा चिकित्सकविरुद्ध प्रशासन मौन बसेको गुनासो उनीहरूले गरेका छन्।
डेंगी संक्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको समूहले बुधबार अस्पतालभित्रै छिरेर दुईजना डाक्टरलाई कुटपिट गरेको हो।
चौतर्फी दबाब बढेपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरीले मृतकका श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिज अनुप प्रधानलाई पक्राउ गरिसकेको छ।