Logo

गृहमन्त्री श्रेष्ठसँग वाईसिएल अध्यक्ष शेर्पालीको आग्रह ‘मन्त्रीका लागि तीन करोड माग्ने र दिन तयार हुने दुवैलाई कारबाही होस्’



काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुवोधराज शेर्पालीले मन्त्री बनाइदिने भनी तीन करोड माग्ने र दिन तयार हुने दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

पूर्व प्रतिनिधि सभा सदस्य डा. ढाकाकुमार शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई मन्त्री बनाइदिने भन्दै तीन करोड मागेको खुलासा गरेका थिए । उनले पार्टीभित्र सभापति रवि लामिछाने र लामिछानेकी धर्मपत्नी निकिता पौडेल र पार्टी केन्द्रीय सदस्य मोहनजंग थापासहितको कोर टिम रहेको र उक्त टिमले मन्त्री बनाईदिन तीन करोड मागेको बताएका थिए ।

उक्त घटनाको प्रसंग जोड्दै वाईसिएल अध्यक्ष शेर्पालीले पैसा माग्ने र दिन तयार हुने दुवै पक्षलाई अनुसन्धानको दायरामा ल्याई कानुनी कारबाही गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष माग गरेका हुन् ।

‘माननीय गृहमन्त्री ज्युलाई आग्रह छ, मन्त्री पदकै बदनाम हुने गरि मन्त्री बन्न तीन करोड मागेका थिए भन्ने र तीन करोड दिन पैसा पुगेन भन्ने दुवैलाई अनुसन्धान गरि सत्यतथ्य छानबिनका आधारमा कानुनी कारबाही गर्नुपर्‍यो । होइन भने नागरिकलाई भ्रमित गर्ने जोसुकै होस् कारबाहीको भागिदार बनाउनपर्‍यो,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्