काठमाडौं,२९ भदौ । सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै, बैठकले सिँचाइ नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
साथै बैठकले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय गरेको उनले जानकारी दिइन् ।
शुक्रबारकै बैठकले सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १०÷१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारले दुवै कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय पनि गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।
बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।