Logo

सुस्तायो प्रचण्ड-विप्लवको पार्टी एकता प्रक्रिया



काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकताको तयारी अहिले सुस्ताएको छ । चार दलीय समाजवादी मोर्चाको कार्यक्रममा विप्लव–प्रचण्ड प्रायः सँगै देखिएपनि उनीहरुले अहिले एकताको वहस गर्न छाडेका छन् । समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने कुरामा उनीहरुको भाषण र प्रशिक्षण केन्द्रीत भएको पाईन्छ ।

प्रचण्ड पार्टी एकता गरेर महासचिव विप्लवलाई बनाउन चाहन्छन् । यद्यपि पार्टीका नेताहरुले नै प्रचण्डको उक्त नीतिलाई मन पराएका छैनन् । विप्लवलाई पार्टीमा भित्र्याएर माओवादीको शक्तिशाली नेताद्वय जनार्दशन शर्मा र वर्षमान पुनलाई साइजमा राख्ने चाहना प्रचण्डको रहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । प्रचण्डले विप्लवलाई शक्तिशाली महासचिव बनाउन खोजेपनि अहिले एकताको कुरा सुस्ताएको छ ।

यद्यपि पछिल्लो समय विप्लवले पनि प्रचण्डको प्रशंसा गर्न थालिसकेका छन् । माओवादीभित्र विप्लवलाई पार्टीमा भित्र्याउन पर्ने मत बलियो छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा प्रधानमन्त्री प्रचण्डको अमेरिका र चीन भ्रमणपछि पार्टी एकताको कामले प्रश्रय पाउने बताउँछन् । राष्ट्रियताको सवाल, भूराजनीतिक सवाल र जटिलताका कारण पार्टी एकता गर्नुको विकल्प नरहेको उनको भनाई छ ।

‘पार्टी एकताको कुरा चाहिँ कामका शाखाहरु धेरै छन्, मुख्य नेतृत्वले नै त्यसमा अलिकति समय दिनुपर्ने हुन्छ । समय दिन नसक्दा पार्टी एकता अलिकति सुस्ताएको हो कि जस्तो भएको छ । पार्टी एकता गर्नुको विकल्प छैन । किनभने हिजोको माओवादी धारबीच एकता गर्नपर्छ पर्छ,’– सापकोटाले भने ।

जनताको विश्वास आर्जन गर्ने र शक्तिशाली पार्टी निर्माण गरी एकताबद्ध भएर अगाडि बढ्ने कुरा सबैभन्दा बढि जरुरत यसबेला रहेको सापकोटाले बताए ।

‘त्यसकारण पार्टी एकता केही समय अरु कामको कारणले गर्दाखेरी सुस्ताएको जस्तो भएको छ । मलाई लाग्छ, संयुक्त राष्ट्रसंघ र चीनको भ्रमणपछि यो काम प्राथमिकतामा आउँछ,’– सापकोटाले भने ।

माओवादी महासचिव देव गुरुङ अप्रत्यक्ष रुपमा विप्लवका लागि ठाउँ खाली गर्न तयार रहेको बताउँछन् । उनी कम्युनिष्टहरुका लागि पद ठूलो कुरा नहुने बताउँछन् । आफू पदको लागि कम्युनिष्ट आन्दोलनमा लागेको नभएर जीवनकालमा केही योगदान गर्नका लागि कम्युनिष्ट आन्दोलनमा लागेको उनी बताउँछन् ।

‘विचार मिल्ने घटकहरुकोबीचमा एकताको प्रयास निरन्तर चलिरहने प्रक्रिया हो । अहिले चल्ने हिजो नचल्ने, अहिले चल्ने भविष्यमा नचल्ने भन्ने विषय होइन । पदको लागि कम्युनिष्ट आन्दोलनमा लागेको विषय होइन । कम्युनिष्ट आन्दोलनमा लाग्ने भनेको त आफ्नो जीवन कालमा योगदान दिने कुरा हो । एकमुटी प्राण र एक थोपो रगत रहुँन्जेलसम्म कम्युनिष्ट आन्दोलनको लागि, समाजवादी क्रान्तिको लागि, साम्यवादसम्म पुग्नका लागि योगदान दिने कुरा हो,’– महासचिव गुरुङ भन्छन् ।

माओवादी केन्द्रक केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुवोधराज शेर्पाली प्रचण्डले विप्लव, जनार्दन र वर्षमानमा क्षमता देखेर अन्य सिनियर नेतालाई पनि पछाडि राखेर अगाडि बढाएको बताउँछन् ।

विप्लव’, जनार्दन र वर्षमान तीनै जना आ–आफ्नो साईज भएका नेता भएको उनको भनाई छ । माओवादी घटकहरुबीच एकता इतिहासको आवश्यकता भएको उनले बताए । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्