काठमाडौं,३१ भदौ । नेपाली कांग्रेसका पूर्वउपसभापति तथा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधिले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने भरपूर प्रयास भइरहेको दाबी गरेका छन् ।
आइतबार बिहान नेपाल प्रेस युनियन धनुषा शाखाले गरेको पत्रकार सम्मेलनमा नेता निधिले गठबन्धनको सरकार भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनजस्तो व्यवहार नगरेको बताए ।
पूर्वउपसभापति निधिले सरकारको काम सन्तोषजनक नभएको पनि बताए । उनले भने, ‘सरकार गठबन्धनको छ । तर, प्रधानमन्त्री प्रचण्डले गठबन्धनको जस्तो व्यवहार गर्दैनन्,’ उनले भने, ‘सरकारको काम सन्तोषजनक छैन ।’
नेता निधिले असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेल जनकपुर भ्रमणमा आउन लागेको समेत जानकारी दिए । उनले यसअघि मौसम प्रतिकुलताले रोकिएको राष्ट्रपति पौडेलको जनकपुर भ्रमणको टुंगो लागेको जानकारी दिए । ‘राष्ट्रपतिज्यूसित मेरो कुराकानी भएको छ । उहाँ असोज ८ गते जनकपुर आउनुहुनेछ,’ निधिले भने, ‘जनकपुरमा राष्ट्रपतिज्यूले जानकी मन्दिरको दर्शन र उपमहानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गरिनेछ ।’