काठमाडौं, १ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसक्दा राजश्व कम उठेको टिप्पणी गरेका छन् । आज (सोमबार) राष्ट्रिय विज्ञान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले बोका, खसीको चोरी पैठारीसमेत नियन्त्रण गर्न नसकेको बताए ।
‘खसी, बोका ट्रकका ट्रक आउँछ । यो कुनै मुख्य भन्सारबाट होइन, मुख्य बाटोबाट होइन, अरु बाटोबाट आएको आएकै छ । मुख्य बाटोबाट पनि आउँछ । देउरालीमा पाती चढाउने, ट्रक पास,’– उनले भने ।
सच्याउन पर्ने धेरै कुराहरु रहेका ओलीले बताए । साथै, मुलुकका लागि विद्युत पर्याप्त नभपनि सरकारले अनावश्यक प्रचार गरेको उनको भनाई छ । आफू प्रधानमन्त्री भएको बेला मुलुकलाई आधारभूत रुपमा लोडसेडिङबाट मुक्त बनाएको उनले दाबी गरे । अहिले कुरा साइन्सका गर्ने अनि साइन्टिफिक मेथोडोजोली चाहिँ नअपनाउने प्रवृत्ति बढेको उनको टिप्पणी छ ।
अहिले उद्योगहरुले विद्युत पाउन नसकेको उनको भनाई छ । उद्योगले विद्युत माग्दा सवस्टेसन र टान्समिसन नभएकाले सरकारले दिन नसकेको उनको भनाई छ । साथै, विद्युत उपभोग कसरी गर्ने भन्ने जनताले बुझ्न नसकेको उनको भनाई छ ।
‘अहिले उद्योगहरुले विद्युत पाएका छैनन् । सव स्टेसन छैन त्यसकारण विद्युत सप्लाई गर्न सकिएन, अहिले पनि भइरहेको छ । विराटनगर, भैरहवा, वीरगञ्जका उद्योगहरुले अहिले पनि मागिराखेका छन् । अझै पुगिसकेको छैन त्यहाँ । हामीलाई पुग्दो विद्युत उत्पादन भएको छैन,’– उनले भने ।