काठमाडौं, २ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका सांसदहरु संसदीय दलका नेता उद्धव थापासँग सन्तुष्ट छैनन् । संसदीय दलका नेता थापाले दुई-दुई पटक मुख्यमन्त्री हुने अवसर पाउँदा पनि प्रदेशलाई स्थायित्व दिन नचाहेको वा प्रयास नै नगरेको भन्दै व्यापक असन्तुष्टि बढेको छ । साथै, उनीमाथि प्रदेश सांसदहरु सरकारको नेतृत्व पाउँदा प्रदेश सरकारको स्थायित्वका लागि अन्य दलसँग छलफल नगरेर दुई–दुई पटक संविधान मिँच्न उद्धत भएको आरोप पनि लगाउँदै आएका छन् ।
कोशीमा पहिलो पटक मुख्यमन्त्री नियुक्त हुँदा थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेका थिए । सभामुखको हस्ताक्षर प्रयोग गरेर पुर्याको बहुमतलाई सर्बोच्च अदालतले असंवैधानिक भनेको थियो ।
सभामुख गौतमको राजीनामा गराएर ४७ मत पुर्याइ दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहेका इस्राईल मन्सुरीको समेत मत लिएका थिए । सभाको अध्यक्षता गरेका मन्सुरीको समेत मत लिएर पुर्याएको बहुमतलाई विश्वासको मत पाएको मान्न नसकिने घोषणासहित सर्वोच्चले दोस्रो पटक उनी नेतृत्वको सरकार विघटन गरिदियो ।
त्यसपछि अहिले कोशी प्रदेश सभामा सबैभन्दा ठूला दलको संसदीय दलको नेताको हैसियतले नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री छन् ।
उनले पनि सरकार टिकाइराख्न आगामी असोज २० गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । उनले विश्वासको मत पाउन नसकेको संविधानको धारा १६८ (५) बमोजिम अर्को सरकार बन्छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउन नसक्ने निश्चित छ । यस अघिको सरकारमा एमालेलाई साथ दिएको राप्रपा अहिले व्याक हटिसकेको छ ।
मुख्यमन्त्री कार्की नेतृत्वको सरकार असफल हुँदैगर्दा अबको मुख्यमन्त्री कसलाई बनाउने भन्नेबारेमा कोशी कांग्रेसमा वसह सुरु भइसकेको छ । पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि अवसर जोगाउन नसकेको प्रदेशको राजनीतिलाई स्थायित्व दिन पहल नगरेको भन्दै माओवादी केन्द्रका सांसद पनि थापाप्रति असन्तुष्ट देखिन्छन् ।
थापासँग पार्टी संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेर पराजय व्यहोरेका सांसद केदार कार्की संसदीय दलका नेता आफैंले बुझेर निकास दिनुपर्ने पार्टीभित्र आवाज उठेको बताउँछन् ।
‘कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्ति हुनुभयो । पहिलो पटक सर्वोच्चले असंवैधानिक भन्यो । दोस्रो पटकको विश्वासको मत लिँदाखेरी झन असंवैधानिक तरिकाले संसदबाट विश्वासको मत लिएको भन्ने छ ।’ कार्कीले भने, ‘त्यसकारण दलको नेता भएको हिसाबले उहाँले अन्य दलहरुसँग संवाद, सहकार्य अगाडि बढाउन नचाहेको, नगरेको र सौहार्दतापूर्ण तरिकाले समस्या समाधानका लागि पहल नगरेको भन्ने हाम्रोमा असन्तुष्टि देखिएको हो । दलको नेताले आफैंले निकास दिनुपर्छ भन्ने कुरा हो ।’
कोशीमा कांग्रेसका २९ सांसद छन् । संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा थापाले १८ मत पाएका थिए भने कार्कीले ९ मत पाएका थिए । अर्का प्रतिस्पर्धी अमृत अर्यालले २ मत पाएका थिए । थापा नेता कृष्ण प्रसाद सिटौला निकट मानिन्छन् ।
सांसद कार्की अब संसदीय दलको नेतामा आफ्नो दाबी स्वभविक भएको बताउँछन् । तर, दलका सांसदहरुसँग छलफल गरेर अगाडि बढ्ने उनी बताउँछन् । ‘२९ जना सांसद हुनुहुन्छ । अब जो पनि हुनसक्छ । यो भन्दा अगाडि प्रतिस्पर्धी भएको हिसाबले मेरो दाबी स्वभाविक नै हो । तैपनि साथीहरुसँग छलफलबाट अगाडि बढ्छौं,’– कार्कीले भने ।