Logo

सक्रिय राजनीतिमा फर्किने चर्चाबीच पूर्वराष्ट्रपति भण्डारीसँग पोखरेलको भेटवार्ता



काठमाडौं,२ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो एमाले महासचिव पोखरेल भण्डारीलाई भेट्न उनको निजी निवास पुगेका थिए । भण्डारी राष्ट्रपतिको भूमिकाबाट बाहिरिएपछि पुनः एमालेको राजनीतिमा फर्किने चर्चा भइरहँदा भएको भेटबारे धेरैले चासो व्यक्त गरेका छन् ।

भण्डारीसँगको भेटवार्ताबारे पोखरेल स्वयंले फोटो सार्वजनिक गरेका हुन् । चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँगको भेटघाट’ भण्डारीसँगको फोटो सार्वजनिक गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेकपा एमालेकी पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारी राजनीतिमा सक्रिय हुने तयारीमा रहेकी छन् । तर, उनले चाहेजस्तो पार्टीमा सहजै सक्रिय हुने अवस्था बन्न सकेको छैन । एमालेको सक्रिय राजनीतिमार्फत अध्यक्ष बनेर देशकै पहिलो महिला प्रधानमन्त्री बन्नेगरि राजनीतिमा आउन लागेकी भण्डारीलाई रोक्न एमालेभित्र पनि एउटा पंक्ति तमतयार अवस्थामा रहेको छ ।

एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु भण्डारीको विपक्षमा रहेका छन् भने उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरुमाथि भने भण्डारीलाई राजनीतिमा पुनः सक्रिय बनाउन लागेको आरोप लाग्ने गरेको छ । त्यसो त उपाध्यक्ष पोडेल र महासचिव पोखरेल दुबै अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् । ओलीसँग मात्र नभएर भण्डारीसँग पनि पोखरेल र पौडेलको सामिप्यता उत्तिकै रहेको एमाले नेताहरु बताउँछन् ।

जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई नयाँ रुप दिन महत्वपूर्ण भूमिका खेलेका महासचिव पोखरेल पहिला देखिनै भण्डारी निकटका नेताको रुपमा चिनिँदै आएका छन् । पूर्व राष्ट्रपति भण्डारीकै जोडबलमा २०७४ सालको निर्वाचन पछि पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्