Logo

‘सुवास नेम्वाङको निधन भएकोमा अझै पत्यार लागेको छैन, देशले असल नेता गुमायो’



काठमाडौं,२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएकोमा आफूलाई अझै पत्यार नलागेको बताएका छन् ।

एमालेले मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको सुवास र संविधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले देशले निक्कै असल नेता गुमाएको बताए ।

उनले भने “उहाँको स्मृतिमा बोल्नुपर्दा अनौठो लागिरहेको छ । अझै पत्यार नभएको जस्तो स्थिति भएको छ ।”

उनले राति निधनको खबर आउँदा नपात्याएको बताए । नेम्वाङको निधनबाट एमालेले असाधारण क्षति बेहोरेको उनले बताए । सिंगो देशले नै असल नेता गुमाएको उनको भनाइ छ । उनले देश बनाउन नेम्वाङले गरेको भूमिका सकारात्मक भएको बताए ।

“सुवासजीले देशलाई जस्तो बनाउन प्रयास गर्नुभएको थियो । सकारात्मक प्रयास गर्नुभएको थियो । त्यो प्रयास अघि बढाउँदा उहाँप्रतिको श्रद्धाञ्जली हुने छ,” उनले भने ।

नेम्वाङले देश, जनतालाई केन्द्रित राखेर गरेको राजनीतिबाट अरूले सिक्नुपर्ने उनले बताए । मिठो बोल्ने नेम्वाङले कहिले पनि स्वार्थी कदम नचालेको ओलीको भनाइ छ । “देशभक्त हुनुहुन्थ्यो । कहिले पनि स्वार्थी कदम चाल्नुभएन,” ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्