Logo

पार्टी विभाजनपछि पहिलो पटक एमाले मुख्यालयमा पुगे झलनाथ खनाल



काठमाडौं,२ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल एमाले पार्टी कार्यालयमा पुगेका छन्। मंगलबार दिउँसो संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रम सहभागि हुन खनाल एमाले पार्टी कार्यालयमा पुगेका हुन्।

यसअगाडि एमालेले नेकपा एकीकृत समाजवादीलाई आफ्नो कार्यक्रममा निमन्त्रणा गर्ने गरेको थिएन। निर्वाचन अगाडिसम्म एमालेले एमालेबाटै विभाजित बनेको एकीकृत समाजवादीलाई औपचारिक रुपमा दलको मान्यताको रुपमा समेत स्वीकार गर्न सकेको थिएन भने गठबन्धनबाट एकीकृत समाजवादी सहभागी हुने मञ्च -बैठकसमेत एमालेले बहिस्कार गर्दै आएको थियो।

एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका सुवासचन्द्र नेम्वाङका लागि मत माग्दै तत्कालीन समयमा एमाले नेताहरु एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए।

कार्यक्रममा खनालले एमाले हुँदा गरेका कामको स्मरण गरे। उनले नेम्वाङसँग ६० वर्षभन्दा लामो मित्रता र सहकार्य गरेको उल्लेख गरे।

उनले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयको बेलामा भने हुन नसकेको जिकिर गरे। उनले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भएअनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट पारे।

पूर्वप्रधानमन्त्री खनालले देशको राजनीति दिशाहीन भएको बताउँदै राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा संकटहरू बढ्दै गएको पनि बताए।

देशका वामपन्थीहरू मेलमिलाप भएमात्रै स्व.सुवासचन्द्र नेम्वाङप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताए।

 



प्रतिक्रिया दिनुहोस्