काठमाडौं, २ असोज । नेकपा (एमाले) ले आज दिवंगत उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सातै प्रदेशमा स्मृति सभा आयोजना गरेको थियो । स्मृति सभालाई सम्बोधन गर्न स्वर्गीय नेम्वाङको गृह जिल्ला इलाममा उपाध्यक्ष रामबहादुर थापा बादल पुगेका थिए ।
नेम्वाङको गृह जिल्ला इलाममा आयोजित कार्यक्रममा उपाध्यक्ष बादलसँगै नेम्वाङ पुत्र सुहाङ पनि सहभागी थिए । सुहाङले उक्त समृति सभालाई सम्बोधन गर्दै पार्टीले अवसर दिए राजनीतिमा आउने संकेत गरेका छन् । उनले राजनीतिक परिवारमा जन्मँदैमा आफूले अवसर पाउनुपर्छ भन्ने नठानेको बताए । तर, बुबाको अधुरा सपना पूरा गर्न भने लागिरहने उनले बताए । उनले घुमाउरो रुपमा राजनीतिमा आउने संकेत गरेका हुन् ।
‘म राजनीतिमा सक्रिय छैन, तर म बुबासँग हुर्केको हुँ, म राजनीतिक परिवारमा जन्मिएको र हुर्किएको हुँ, राजनीतिक परिवारमा हुर्किएँ भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिन,’- उनले भने ।
बुबाले सधैँ लोकतन्त्र, संविधान र कानुनको शासन मजबुद होस् भन्ने चाहेको सुहाङले बताए । उनले इलामका जनतासँग हातेमालो गरेर अगाडि बढ्नसमेत आग्रह गरे । इलामको विकासका लागि सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।
नेम्वाङको निधनसँगै इलाममा एमालेको राजनीतिक विरासत धान्न पनि असन्न उपनिर्वाचनमा एमालेले सुहाङलाई अगाडि सार्ने आम सर्वसाधरणको बुझाइ छ । आफूले कहिल्यैपनि इलामवासीको शीर निहुरिन नदिने पनि उनले प्रतिवद्धता व्यक्त गरे । सुहाङ कानुन व्यवसायी हुन् ।
‘अहिलेसम्म बुवाले देशको परिवारको र इलामबासीको शीर निहुरिन दिनु भएन’, उनले भने, ‘म पनि बुवाले अपूरा छाडेका कामहरु अगाडि बढाउन तयार छु। मेरो परिवार र मैले कहिले पनि तपाईंहरुको शीर निहुरिन दिन्नौँ ।’