Logo

तस्बिरमा हेर्नुहोस् नक्सालमा एमालेको ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रम



काठमाडौं,३ असोज । नवौं संविधान दिवसको अवसरमा नेकपा एमालेले काठमाडौंस्थित नक्सालको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ ।

हरेक वर्ष असोज ३ गते पर्ने संविधान दिवसलाई यस वर्ष भने राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरी मनाइएको एमालेले जनाएको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, ओली पत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली , उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेताहरु रघुजी पन्त, केशव बडाल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसहित विभिन्न नेताहरू सहभागी भएका छन् ।

अध्यक्ष ओलीले असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’सहित संविधान दिवस मनाउन आग्रह गरेका थिए। त्यहीअनुसार एमालेका नेता कार्यकर्ता, सर्वसाधारण र विद्यार्थीसहित सयौँजना नारायण चौरमा भेला भएका थिए।

बुधबार बिहानैदेखि नारायण चौरमा राष्ट्रिय झन्डासँग सेल्फी खिचाउनेहरुको भिड लागेको थियो। नारायणचौर परिसरमा राष्ट्रिय झण्डासँगै ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान दिवसको शुभकामना दिए।

उनले अहिले राष्ट्रिय उपलब्धि समाप्त पार्ने खेल भइरहेको बताए। उनले विभाजनकारी तत्व र प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने र राष्ट्रिय एकतालाई खलल पुर्‍याउने प्रवृत्तिहरू देखा पर्न थालेको बताए। ओली यसबाट सचेत र सजग हुनुपर्नेमा जोड दिएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा सुवासचन्द्र नेम्वाङ थिए । नेम्वाङको भने संविधान दिवसको पूर्वसन्ध्यामा गत मंगलबार हृदयघातका कारण निधन भएको थियो ।

तस्बिर- एमाले अध्यक्ष ओलीको सचिवालय 



प्रतिक्रिया दिनुहोस्