Logo

गाउँ-गाउँबाट विद्यालय बन्द गरेर शिक्षकहरु सडकमा उर्लिएपछि उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त (तस्बिरहरु)



काठमाडौं,३ असोज । सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयक २०८० प्रति असन्तुष्टि जनाउँदै देशैभरका शिक्षकहरु आन्दोलित बनेका छन् ।

शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंको नेतृत्वमा देशैभरका शिक्षकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

देशभरबाट विद्यालय नै बन्द गरेर काठमाडौं आएका शिक्षकहरू माइतीघरमा भेला भइ प्रदर्शनमा उत्रिएका हुन्। शिक्षकहरूको प्रदर्शनका कारण सो सडक खण्डको ट्राफिक अस्तव्यस्त बनेको छ।

विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवालमा ध्यान दिन नसकेको महासंघको आरोप छ ।

त्यस्तै अस्थायी अवधि गणना तथा निवृत्तिभरण,शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासंघको बुझाइ छ ।

शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।

तस्बिरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्