Logo

देउवाले कार्यशैली नसच्याए आफ्नै ढंगले अघि बढ्ने शेखर समूहको चेतावनी



काठमाडौं,३ असोज । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइराला आफू पक्षका नेताहरु लिएर पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन् ।

बुधबार उपसभापति तथा कानून न्याय एवं संसदीय मामिलामन्त्री धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर कोइराला देउवा निवास धुम्बाराही पुगेका हुन् । देउवालाई भेटेर कोइरालाले पार्टीमा आफ्नो कार्यशैली सच्याउन आग्रह गरेको एक नेताले जानकारी दिए ।

पछिल्लो समय पार्टीको नेतृत्व तहसँग इतर पक्षको नेतृत्व गरिरहेका नेता कोइराला असन्तुष्ट रहेका छन् । उनले मंगलबार मात्रै आफू पक्षका नेताहरुको भेला डाकेका थिए । कोइरालाले डाकेको उक्त भेलामा महामन्त्री गगन थापासहित नेताहरु धनराज गुरुङ, दीलेन्द्रप्रसाद बडू, संजय गौतम, जीवन परियार, सरिता प्रसाइ, प्रतिमा गौतम, दिपक गिरी, दिनेश कोइराला र गोविन्दराज जोशीलगायत उपस्थित भएका थिए । मंगलबारको भेलाले आजै देउवालाई भेटेर पार्टीको काममा आफ्नो कार्यशैली सूधार गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

मंगलबारको भेलाले गरेको निर्णयअनुसार नै नेताहरु आज देउवा निवास पुगेका हुन् । देउवा निवास पुगेका कोइरालाले देउवाको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएका छन् । कोइरालाले देउवाले आफ्नो कार्यशैली सूधार गर्नुपर्ने अन्यथा संस्थापन इतर समूह आफ्नै ढंगले अगाडि बढ्ने चेतावनी दिएको उक्त भेटमा सहभागी एक नेताले जानकारी दिए ।

नेता कोइरालाले सरकार र मन्त्रीहरूको चयनमा छलफल नगरिएको गुनासो गरेका थिए । त्यस्तै, कोशी प्रदेशमा सरकार गठनका विषयमा पार्टीले लिएको बाटो गलत रहेको उल्लेख गर्दै नेता कोइरालाले त्यसकारण कांग्रेसकै बदनाम गर्ने काममात्रै भएको बताएका थिए । ‘कोशी प्रदेशमा सरकार गठनको विषयले कांग्रेसको बद्नाममात्रै भयो । तपाईको गलत निर्णयका कारण एकपछि अर्को गरी कांग्रेस अपमानित हुने अवस्था बनेको छ,’ कोइरालाले भनेका थिए ।

नेता कोइरालाले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामहरुको बारेमा छलफल गरेका थिए । कोइराला पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारसँग असन्तुष्टि रहेका छन् । उनले त सार्वजनिक रुपमानै दाहाल नेतृत्वको सरकार ढालेर एमालेसहितको कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । तर कांग्रेसभित्रकै संस्थापन पक्ष भने दाहाल नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छ ।



प्रतिक्रिया दिनुहोस्