काठमाडौं,३ असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गतको पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
नेपालले समूह चरणमा खेलेका दुबै खेलमा पराजय भोगेसँगै समूह चरणबाटै बाहिरिएको हो । आज भएको दोस्रो खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित भएको छ । इरानसँग नेपाल २५-९, २५-१४ र २५-१३ को सेटमा पराजित भएको हो ।
मंगलबार भएको पहिलो खेलमा पनि नेपाल बहराइनसँग ३ -१ ले पराजित भएको थियो । प्रतियोगितामा पदक जित्ने संभावना सकिए पनि नेपाली पुरुष भलिबल टिमले अब वरीयताका लागि भने खेल्ने छ । कठिन समूहमा रहेको नेपालले पाँचौं पटक एसियाडमा सहभागिता जनाएको हो।
नेपालले पहिलोपटक सन् १९७८ मा थाइल्यान्डको बैंककमा भएको ८औँ एसियाडमा सहभागिता जनाएको थियो।
त्यसपछि सन् १९८२ मा भारतको दिल्लीमा भएको नवौँ एसियाडमा सहभागी भएको नेपालले १९८६ मा दक्षिण कोरियामा भएको १०औँ एसियन गेम्स खेलेको थियो।