Logo

संविधानमा आमूल परिवर्तनको खाँचो छ, यसका खम्बाहरु ढल्ने अवस्थामा छन्ः वरिष्ठ अधिवक्ता भण्डारी



काठमाडौं, ३ असोज । आम जनता पार्टीले नवौं संविधान दिवसको अवसरमा ‘नेपालको संविधानः साधक कि बाधक’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व उपप्रधानमन्त्री, मन्त्री, नागरिक समाजका अगुवा, संविधानविद्लगायतले आफ्नो धारणा राखेका थिए ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपालको संविधानका केही व्यवस्था बाहेक सबै व्यवस्था संशोधन, परिमार्जन र खारेज गर्न सकिने भएकाले यो संविधान केही हदसम्म साधक रहेको बताए । उनले संविधानले नागरिकका अधिकारहरुलाई मौलिक हकको रुपमा स्थापित गरेको, जनताको आवाजलाई सम्बोधन गरेको भन्दै यसलाई केही हदसम्म साधक मान्न सकिने धारणा व्यक्त गरे ।

राम्रा व्यवस्था भएपनि अहिलेको संविधान दिशाहीन रहेको उनको टिप्पाणी छ । उनले यो संविधानमा आमूल परिवर्तनको आवश्कता औंल्याए ।
‘राम्रा पक्ष हुँदाहुँदै पनि समग्ररुपमा यो संविधान दिशाहिन बनेको छ । यो संविधानले मुलुकलाई गन्तव्यमा पुर्याउन सक्दैन । यो संविधानमा आमूल रुपमा परिवर्तन गर्नुपर्ने अवस्था छ,’– उनले भने ।

उनले यो संविधानको पाँच वटा खम्बाहरु लोकतन्त्र, गणतन्त्र, संघीयता धर्म निरपेक्षता र समावेशितामा दरार आइसकेको बताए । यी खम्बाहरु डल्ने अवस्थामा रहेको उनको टिप्पणी छ ।

नेपालको निर्वाचन प्रणालीमा नै सबैभन्दा ठूलो समस्या रहेको उनको भनाई छ । यति सानो मुलुकमा सांसदहरु धेरै भएको उनले बताए ।
प्रधानमन्त्री प्रत्यक्ष रुपमा निर्वाचित र सांसद मन्त्री हुन नपाउने व्यवस्था गर्न सकिए केही हदसम्म सुधार हुने उनको भनाई छ ।

उनले गणतन्त्र र नागरिकबीचमा ग्याप रहेको बताए । गणतन्त्रका बारेमा सोच्नु आवश्कता रहेको बताउँदै उनले गणतन्त्रको विकल्प खोज्ने बेलामा देश पुगेको बताए । देशका लागि गणतन्त्र दूर्भाग्य हो भन्ने कुरा प्रमाणित भइसकेको उनको भनाई छ ।

उनले नेपालको सन्दर्भमा संघीयता अभिश्राप बनेको बताए । संघीयता सेतो हात्ती भएको उनको भनाई छ । उनले स्थानीय सरकारलाई अधिकार दिएर प्रदेश सरकार खारेजीको पक्षमा आफू रहेको बताए ।

धर्म माटोको उपज भएको बताउँदै उनले धर्मनिरपेक्षता बोकेको संविधान परिमार्जन गर्न जरुरी रहेको बताए । राजनीतिक चरित्र नभएको राजनीतिक दल र राजनीतिक चरित्र नभएका नेताहरुका कारण संविधान संशोधन हुन नसकेको उनको आरोप छ । आफू यो संविधान खारेजीको पक्षमा भन्दा पहिला संशोधनको पक्षमा रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्