Logo

पार्टीको नामै परिवर्तन गरेर भएपनि एकताको पक्षमा प्रचण्ड



काठमाडौं, ३ असोज । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताका लागि पार्टीको नाम परिवर्तनबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिने बताएका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गरी लेखिएको पत्रमा पार्टी एकतालाई सफल तुल्याउन पार्टीको नामबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने बताइएको छ ।

‘यही भदौ २५ गते अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा बसेको यस पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारीहरु) को बैठकमा पार्टी एकता सम्बन्धमा गम्भीरताका साथ छलफल भयो ।’ पत्रमा भनिएको छ, ‘पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोप्टभित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ ।’

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षर रहेको उक्त पत्र यादवलाई पठाउनुमा माओवादीले बाबुराम भट्टराईलाई बेवास्ता गर्न खोजेको देखिन्छ । आन्तररिक मतभेदका कारण माओवादीबाट अलग भएका बाबुराम पछिल्लो समय निकै अस्थिर देखिएका छन् । २०७२ सालको सालको नेपालको संविधान जारी भएसँगै माओवादी परित्याग गरेका बाबुरामको यसबीचमा मिल्ने र विघटन हुने श्रृङ्खला जारी रहेको छ ।

गत मंसिर ४ को स्थानीय तह निर्वाचनमा प्रचण्डलाई आफ्नै निर्वाचन क्षेत्र सु्म्पिएर विजयी गराएको बाबुराम पछिल्लो समय प्रचण्डसँग रुष्ट देखिन्छन् ।



प्रतिक्रिया दिनुहोस्