Logo

छोरीको हत्यारालाई कारबाही नभए माईतीघर मण्डलामा देहत्याग गर्ने आरती साहका बुवाको घोषणा (भिडियोसहित)



काठमाडौं,४ असोज । २०७८ सालको असारमा बिवाह गरेर गएकी आफ्नी २२ वर्षिय छोरी गत जेठ ७ गते श्रीमानको घरमा मृत भेटिएपछि धनुषाको नागराइन नगरपालिका ८ का विनोदबाबु साहको परिवार आन्दोलित बनेको ४ महिना पूरा भएको छ ।

विनोदकी २२ वर्षकी छोरी आरती जेठ ७ गते श्रीमानको घरमा सिलिङमा पासो लगाएको अवस्थामा फेला परेकी थिइन् । उनलाई उद्धार गरेर तत्काल अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेका थिए । आफ्नै घरको सिलिङमा पासो लगाएको अवस्थामा शव फेला परेपछि माइतीपक्षले उनको हत्या भएको दाबी गर्दै आन्तदोलमा होमिएका छन् ।

श्रीमानको घरमा मृत भेटिएकी आरतीको हत्या भएको माइती पक्षको आरोप छ । तर उनको श्रीमानका परिवार भने,आरतीले आत्महत्या नै गरेको दावी गर्दै आएका छन् ।

आरतीले आत्महत्या गरेको भनिए पनि उनकी आमा निर्मलादेवी र परिवारलाई यसमा पूरा भर लागेन । प्रहरीको अनुसन्धानमा उनीहरूलाई शंका छ। श्रीमानको घर परिवारले आत्महत्या भनेपनि आरतीको माइती पक्ष भने, उनको हत्या भएको र हत्यामा श्रीमान लगायत उनका सासु ससुराको संलग्नता रहेको दाबी गर्दै आन्दोलित बनेका छन् ।

हत्यामा संलग्न रहेको भन्दै उनको परिवारले आरतीको श्रीमानसहित उनका सासु ससुराविरुद्ध प्रहरीमा जाहेर दिएका थिए । तर प्रहरी प्रशासनबाट पनि न्याय नपाएको उनको परिवारको बुझाइ छ । प्रहरीलाई पैसाको बलमा किनेर आफूलाई अन्यायमा पारिएको भन्दै आरतीका माईतीपक्ष गत असार १ गतेबाट काठमाडौंको माईतीघरमा धर्नामा बसिरहेका छन् । धर्नामा आरतीकी आमा निर्मलादेवीसँगै बुवा विनोदप्रसाद, दाइ प्रेम, बहिनी मनिषा, मामा सन्तोष, ठूलीआमा रञ्जनादेवी र सानीआमा मिनादेवी छन्।

काठमाडौंको माईतीघरमा ३ महिनादेखि निरन्तर आन्दोलनमा रहेपनि हालसम्म न्याय पाउन नसकेको उनको परिवारको गुनासो छ । सरकारले गत भदौ ७ गते उक्त घटनाको सत्यतथ्य छानबिन गर्न भन्दै प्रहरी नायव महानिरिक्षक विकास खनालको नेतृत्वमा एक समिति बनाएको थियो । तर उक्त समितिले पनि कुनै निकास दिन सकेको छैन।

आरतीको हत्या भएको र सत्यतथ्य छानबिन गर्न माग गर्दै आएका उनको माईती परिवार न्याय माग्दै बिहीबार संसद्को महिला, बालबालिका तथा सामाजिक समितिमा पुगेका छन् । महिला बालबालिका तथा सामाजिक समितिका सभापति किरणकुमार साहको अध्यक्षतामा बसेको उक्त बैठकमा पनि उनका आफ्न्तहरु बारम्बार एउटै कुरा गरिरहेका थिए । ‘मेरी निर्दोष छोरीलाई न्याय देऊ’ । ‘दाइजोकै कारण हत्या गर्ने पापीलाई कारबाही गर’ ।

बिहीबार महिला तथा बालबालिका समितिको बैठकमा सहभागी भएका उनका बावु विनोदप्रसाद साहले रिपोर्टर्स नेपालसँग सक्षिप्त कुरा गर्दै आफुहरु सरकारसँग निरन्तर लडिरहने बताए । आफ्नी छोरीको हत्या भएको ४ महिनासम्म पनि कुनै कारबाही नभएपछि साहले न्याय नपाएसम्म आफूहरु निरन्तर आन्दोलनमा होमिरहने र सरकारले न्याय नदिए माइतीघरमा मर्नसमेत तयार रहेको बताए ।

‘आरतीको पोस्टमार्टम रिपोर्टमा पनि आत्महत्या होइन् भन्ने प्रष्ट छ । हामी माइतीघरमा आउनु हाम्रो रहर होइन । जिल्लाको पुलिस प्रशासनले न्याय नदिएपछि हामी बाध्य भएर माइतीघरमा आएका हौं’ रिपोर्टर्स नेपालसँग कुराकानी गर्दै साहले भने । साहले उक्त घटनालाई डिसमिस बनाउन भूमिका खेल्ने धनुषाका डीएसपी वेदप्रकाश गौतम र एसपी विश्वराज खड्कालाई कारबाही गर्न माग गरेका छन् ।

‘पुलिस प्रशासनकै कारण हामी माइतीघरमा आउन बाध्य भयौं । उक्त घटनामा संलग्न एसपी र डीएसपीलाई कारबाही हुनपर्छ । मेरो छोरीलाई त मारेरै छोडे उनीहरुको यातनाले हामी पनि मर्ने अवस्थामा पुग्यौं । महिला तथा बालबालिका समितिमा आएका छौं । आजको बैठकबाट के निष्कर्ष निक्लिन्छ त्यसपछि पुनः हामी थप आन्दोलनको तयारी गछौं । महिला समितिबाट पनि न्याय नपाए माइतीघरमै मर्छौं । तर छोरीलाई न्याय दिलाएरै छोड्छौं ।साहले भने

जिल्ला प्रशासन कार्यालय धनुषाले आरतीको हत्या नभएर आत्महत्या भएको बताउँदै आएपनि आरतीको परिवारले भने यसमा सरकारले प्रस्ट छानबिन गर्नुपर्ने, पीडक चारै जना (आरतीको ससुराली परिवार) र आफूहरूमाथि कुटपिट गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन्।

तस्बिर- भिडियो/ मुकुन्द कालिकोटे: रिपोर्टर्स नेपाल डटकम 

 

 



प्रतिक्रिया दिनुहोस्