काठमाडौं,४ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपा ललितपुरमा बैठक सुरु भएको हो ।
आजबाट सुरु भएको बैठकले आगामी मंसिरमा हुने नीति अधिवेशन, वर्तमान सरकारले गरिरहेका काम, पार्टीको आगामी कार्यदिशा लगायतका बारेका छलफल गरिने कांग्रेसले जनाएको छ ।
आजबाट सुरु भएको बैठकमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा केन्द्रीय सदस्य उद्धव थापाले आफू नेतृत्वको प्रदेश सरकारले गत भदौ ४ गते प्रदेश सभाबाट लिएको विश्वासको मतबारे प्रष्टीकरण दिएका छन् ।
गत साउन १७ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ ४ गते विश्वासको मत लिएका थिए । उनले विश्वासको मत लिँदा प्रदेश सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीको पनि मत लिएका थिए । मतदान सकेपछि मत सच्याउने बेलामा माओवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई अध्यक्षता गराएर मन्सुरी मत दिन गएका थिए । मन्सुरीकोसमेत मतले थापाले विश्वासको मत पाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सर्वोच्च अदालत गएको थियो ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चका रिट दायर गरेका थिए । कार्कीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले भदौ २१ गते थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै थापा नेतृत्वको सरकार पदमुक्त हुने फैसला गरेको थियो । साथै सर्वोच्चले ४८ घण्टाभित्र रिट निवेदन हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
यसरी थापाले लिएको विश्वासको मतबारे अदालतको फैसलापछि आलोचित बनेका थापाले आजको बैठकमा प्रष्टीकरण दिँदै भने ‘हामीले विश्वासको मत लिएका थिएनौँ भने धारा ३ अनुसार एमाले नेतृत्वमा सरकार बन्थ्यो । हामीसँग स्पष्ट बहुमत छ,’ ।
उनले बैठकको अध्यक्षता गर्ने व्यक्ति अस्थायी रहेको बताए । ‘अध्यक्षता ग्रहण गरेका व्यक्ति अस्थाइ हुनुहुन्थ्यो स्थायी सभामुख चुनिन बाँकी हुनुहुन्थ्यो । सभामुखको शपथ ग्रहण गरेको छैन । सभामुखको सेवा सुविधा पनि लिएको छैन,’ थापाले भने, ‘जसले अध्यक्षता गरेको छ उसलाई दलीय ह्वीप लागेको छ । मतदान गर्न पाउँछन् भन्ने कुरा कानुनी सल्लाहकारसँग परामर्श गरेका थियौं ।’