काठमाडौं,४ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा देशैभरका शिक्षकहरु आन्दोलनमा उत्रिएको बारेमा पोखरा महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको ।
महानगरका प्रमुख धनराज आचार्यले आज एक विज्ञप्ति जारी गर्दै विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै बिद्यार्थीहरुलाई विना अवरोध पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न अनुरोध गरेका हुन् ।
शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकास लगायतका सवालमा राखेका कतिपय मागहरूप्रति स्थानीय सरकारका नाताले पोखरा महानगरपालिका संवेदनशील रहेपनि विद्यालयहरूको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरू समेत अवरुद्ध हुनेगरि आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउँदा बिद्यार्थीहरुको निर्बाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकार भने हनन हुन पुगेको मेयर आचार्यले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै बिद्यार्थीहरुलाई विना अवरोध पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न तथा विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पूर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सवैमा महानगरपालिका निर्देशन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
सरकारले दर्ता गराएको उक्त विधेयक खारेज गर्न माग गर्दै बुधबारबाट काठमाडौं केन्द्रीत आन्दोलन भइरहेको छ । देश भरका हजारौं विद्यालय बन्द हुँदा आधा करोडभन्दा धेरै विद्यार्थीहरु पढ्न पाउने अधिकारबाट बञ्चित भएका छन् । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको अगुवाईमा आान्दोलन भइरहेको छ ।