Logo

शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता



काठमाडौं,५ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको शिक्षकहरुले गरिरहेको आन्दोलनप्रति नेपाली कांग्रेस निकटको ट्रेड युनियन कांग्रेसले समर्थन गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले शुक्रवार एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले उठाउँदै आएको जायज माग र आन्दोलनप्रति ऐक्यबद्धता रहेको जनाएका छन् ।

‘सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा पेस गरेसँगै नेपालको सिङ्गो शिक्षा क्षेत्र आन्दोलित भएको छ । उक्त विधेयकले शिक्षा क्षेत्रका विद्यमान समस्याहरूको समाधान गर्न नसकेको, शिक्षक एवं ट्रेड युनियन अधिकार लगायत विभिन्न मौलिक हकहरुलाई समेत कुण्ठित गर्ने गरी आएको भन्दै २०८० असोज ३ गते बुधवार देखि नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाण्डौं केन्द्रीत आन्दोलन भइरहेको विषयले नेपाल ट्रेड युनियन काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गत हप्ता संसद्मा दर्ता भएको विधेयकलाई लिएर शिक्षकहरु रुष्ट बनेका छन् ।

शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षकलाई विगतका सहमतिका आधारमा स्थायी गर्नुपर्ने, विद्यालय कर्मचारीको दायीत्व संघीय सरकारले वहन गर्नुपर्ने, इसिडि शिक्षकलाई प्राथमिक तृतीय शिक्षक सरहको दरबन्दीमा लैजानुपर्ने, संघीय शिक्षा ऐन जारी हुनुभन्दा अगाडि नियुक्त भएका शिक्षकहरूको हकमा पुरानै प्रणाली अनुसार पेन्सन हुनुपर्ने, अस्थायी प्रकृतिका शिक्षक स्थायी भएमा पेन्सन प्रयोजनका लागि अस्थायी सेवाअवधि गणना हुनुपर्नेलगायतका माग अघि सारेको छ।

 



प्रतिक्रिया दिनुहोस्