काठमाडौं,५ असोज । संसदमाा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुको असन्तुष्टि चुलिँदै गएपछि साझा धारण बनाउन नेपाली कांग्रेसले आफ्ना सांसदहरुके बैठक बोलाएको छ ।
कांग्रेसले संसदमा दर्ता भएका विधेयकहरु उपर निरन्तर छलफल गर्दै आएको छ । त्यस कार्यक्रम अन्तर्गत असोज ८ र ९ गते विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसले सांसदहरुलाई संससद भवन नयाँ वानेश्वर स्थित लोत्सेहलमा बैठक बोलाएको छ ।
कांग्रेसको हिजोबाट सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले सांसदहरुको भेला बोलाईएको जानकारी गराएका छन् । लेखकका अनुसार विधेयक माथिको छलफलमा सांसदहरुको सहभागिता रहँदै आएको छ । विद्यालय शिक्षा विधेयक धेरै चासोको विषय भएकाले यसमा एकीकृत धारणा तय गर्नु आवश्यक रहेकाले पार्टीका केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका छन् । शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकमा बोल्दै उनले केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका हुन् ।
गत हप्ता सदनमा दर्ता विधेयकलाई लिएर देशैभरका सामूदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आन्दोलनको नेतृत्व गरिरहेको छ ।