काठमाडौं,५ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत हप्ता संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा भएका कमिकमजोरी सच्याउने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार काठमाडौंको श्री नन्दी माध्यमिक विद्यालयको कम्प्युटर ल्याबको उद्धघाटन गर्दै थापाले शिक्षकहरुले गरिरहेको आन्दोलनप्रति आफू जानकार रहेको बताए ।
संसद्लाई विश्वास गरेर शिक्षकहरूले आफ्नो आन्दोलन स्थगीत गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर गरे । थापाले शिक्षकहरूको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए ।
उनले अहिलेको विधेयक कम्तीमा पनि २० वर्षका लागि हुने भएकाले हतार नगरी संशोधन गरेर अन्तिम टुङ्गो लगाउनुपर्ने धारणा राखे । थापाले अहिलेको अवस्थामा देशभरका विद्यालयमा विद्यार्थीलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गरे । श्री नन्दी माध्यामिक विद्यालयमा डेल्टिन नेपाल प्रालिले कम्प्युटर ल्याव स्थापना गरेको हो ।